Flash news बनेपा नगरपालिकाद्वारा विपद् व्यवस्थापन सशक्त बनाउन उद्धार सामग्री हस्तान्तरण     दुर्गेश थापा र सिसन बाँनियाको नयाँ गीत ‘जाने भए जाम माया’ सार्वजनिक     रोटरी क्लब अफ काभ्रे भ्यालीको अध्यक्षमा मनिषा श्रेष्ठ    

मगमगिँदै आँप बगैँचा, किसान खुसी

यतिखेर महोत्तरीसहितका मध्यपूर्वी तराईमा आँप बगैँचाको सुवास छाएको छ । बगैँचा भएका ठाउँ वरिपरी चल्ने मज्जर (मञ्जरी फूल) को मगमग वासनाले किसान पुलकित (खुसी) छन् । मज्जरको सुवासले बाटो हिँड्ने बटुवासमेत मख्ख पर्छन् ।


यसपाली आँपमा राम्रो मज्जर (मञ्जरी फूल) खिलेको (फूलेको) छ । रुखका हाँगा मज्जरले झपक्क भएर झुकेसँगै यसको सुवास परपरसम्म छरिँदा किसान दंग परेका हुन् । चाँडै फल्ने र पाक्ने जातका आँपका रूखमा त टिकोला (चिचिला) बग्रेल्ती लागेका छन् ।


आँपमा खिलेको मज्जर र चारैतिर छरिएको त्यसको सुवासभित्र आफ्नो घरगुजाराको जोहो हुने आशले किसानको मुहारमा अहिले खुसी छाएको छ । ‘चैत पहिलो साता सकिँदासम्म त आँपले राम्रै आशा जगाएको छ, मज्जर र टिकोलाले रुख झु्केका छन्’, महोत्तरीको बर्दिबास नगरपालिका-९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतोले भने, ‘अहिले देखिएको मज्जर र हुर्कँदै गरेका टिकोला टिक्न सके राम्रै आम्दानी लिन सकिने आश जागेको छ ।’


जिल्लामा व्यावसायिक रूपमै आँप खेती गर्ने किसान अहिले ठूलो हावाहुरी नचली देओस् भन्ने कामनामा छन् । ‘हेर्नोस् न, अहिले त रुखमा खिलेको मज्जर र हुर्कदै गरेका टिकोला देखेर हामी किसानमात्र होइन, बटुवा पनि दंग पर्छन्,’ जिल्लाको बर्दिबास नगरपालिका–५ का वडाअध्यक्षसमेत रहेका किसान दलबहादुर थापा मगरले भने, ‘ठूलो हावाहुरी नआएर मधुवा (मज्जरमा लाग्ने एक किसिमको कीरा, रोग) नलागे त यसपाली आँप राम्रो फल्ने छाँट छ ।’




थापाले भनेजस्तै अहिले आँपको मज्जरले किसानमात्र हैन बाटो हिँड्ने घाँसे, दाउरे र अन्य बटुवा पनि दंग पर्छन् । बाटो छेउका आँपका रूखमा हाँगा,पात नदेखिने गरी मज्जरले छपक्क छोपेको हेरेर यसपाली आँप मज्जाले खान पाइने सर्वसाधारण बटुवाले आश सँगालेका छन् ।


‘आँप राम्ररी मजरेको (फुलेको) छ, राम्ररी टिकी दिए खुब खान पाइने छ’ गौशाला–१ रामनगरको आँप बगैँचामा थकाइ मेट्दै गरेका एक बटुवाले भने, ‘आँप राम्रो फल्दा किसान र किनेर खाने दुबै खुसी हुन्छन् ।’ आँपको मज्जरको वासनाले बाटो हिँड्दाको थकान मेटिने हुँदा रुखमुनि एकछिन बसौँबसौं नै लाग्ने ती बटुवाको भनाइ छ ।



चैत दोस्रो साता चल्दै गर्दा फलफूलखेतीका किसान तीव्र गतिको हुरिबतास नचली देओस् भन्ने गर्छन् । महोत्तरीसहितका मध्यपूर्वी मधेश (तराई) मा चैत-वैशाख जग्गा रुखो हुने र हुरीबतासको प्रकोप हुने महिना मानिन्छन् । हुरीबतास र असिनाले गृष्मकालीन फलका मज्जर र टिकोला झारेर नोक्सान गर्ने हुँदा किसानको चिन्ता त्यसमा देखिएको हो । अहिले बरू असिनारहित हल्का वर्षा फलफूल र अन्यखेती लगाएका किसानको समेत चाहना छ ।


बगैँचा खेतीका किसानलाई अहिले हल्का वर्षा भए रूखमा लागेका जालो, रोगटे (एक किसिमको कमिला जो राता हुन्छन्) को गोला र मज्जरमा लाग्ने मधुवाको कालो धब्बा पखालिने आश छ ।


चैते हल्का वर्षाले मज्जरको डाँठ बलियो बनाउने, आँपका रूखमा लागेका कीरा पखाल्ने र जरामा पर्याप्त चिस्यान बनाउने हुँदा फूल नझर्ने र टिकोला बोटमा राम्ररी अडिने किसानको अनुभव छ । वर्षा नहुँदा रूखका जरामा सधैंजसो पानी हाल्नु परेको र बोटमा पानीकै फोहरा दिने गरिएको किसान बताउँछन् ।


यसपाली राम्ररी हिउँदे वर्षा नहुँदा चैतको पहिलो साताभित्रै पानीका मुहान सुक्दै गएको हुँदा सास्ती बढेको किसानको भनाइ छ । फलका रुखका लागि बाहिरी प्रयत्नबाट गरिएको सिञ्चाइ र फोहरा वर्षाको पानीजस्तो प्रभावकारी नहुने गौशाला नगरपालिका–१० बटौवाका किसान लक्ष्मीप्रसाद सिंह कुशवाहाको अनुभव छ ।

photo
photo
photo
photo
photo